जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार १५:४६

व्यक्तिको दागको भारी पार्टीले बोक्दैन : गगन थापा


काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका सभापति गगन थापाले ठगीको आरोपमा पक्राउ परेकी केन्द्रीय सदस्य पदकी उम्मेदवार बिनिता खड्काको विषयमा पार्टीले जिम्मेवारी नलिने बताउनुभएको छ।

१५औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा शुक्रबार पक्राउ परेकी थिइन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्नुभएका सभापति थापाले कांग्रेस भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनको शासनमा विश्वास गर्ने बताउनुभयो।

“कुनै पनि व्यक्तिले गलत काम गर्छ, कुनै पनि व्यक्तिले गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैँले बोक्नुपर्छ, पार्टीले बोक्दैन,” उहाँले भन्नुभयो।

व्यक्तिमाथि लागेको दाग उसैले मेटाउनुपर्ने उल्लेख गर्दै थापाले कुनै व्यक्तिको गलत कामको जिम्मेवारी पार्टीले नलिने स्पष्ट पार्नुभयो।

“कुनै व्यक्तिलाई लागेको दाग हो भने त्यो व्यक्ति आफैँले मेट्नुपर्छ, पार्टीले त्यो दागको भारी बोक्दैन,” उहाँले भन्नुभयो।

थापाले कांग्रेस भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति र कानुनी शासनको पक्षमा दृढ रहेको पनि बताउनुभयो।