काठमाडौं, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको शिक्षाप्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरको सामना गर्न सक्षम बनाउनुपर्ने बताउनुभएको छ।
पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेश तथा हीरक महोत्सव–२०८३ को अवसरमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै शिक्षाको स्वरूप र उद्देश्य पनि परिवर्तन हुनुपर्ने बताउनुभयो।
राष्ट्रपति पौडेलले आधुनिक ज्ञान र सीपसँगै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो।
विद्यालयले पाठ्यपुस्तकको ज्ञान मात्र नभई अनुशासन, इमानदारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता जीवनमूल्यसमेत सिकाउनुपर्ने उहाँको भनाइ थियो।
शिक्षाको उद्देश्य परीक्षामा राम्रो अङ्क ल्याउने जनशक्ति उत्पादनमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले विद्यार्थीलाई समस्या समाधान गर्न, नयाँ सोच विकास गर्न, प्रविधिको सदुपयोग गर्न र जिम्मेवार नागरिक बन्न सक्षम बनाउनुपर्ने बताउनुभयो।
यसका लागि सरकार, नीतिनिर्माता र शिक्षासँग सरोकार राख्ने सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्