जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार १५:५९

सडक अवरुद्ध, भाडा महँगो : यात्रु समस्यामा, प्रशासनमाथि प्रश्न


काठमाडौं, असोज २४ । धादिङको गजुरी गाउँपालिका–५ गलौंदीमा पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध भएपछि यात्रु महँगो भाडा तिर्न बाध्य भएका छन्। सवारीसाधनको अव्यवस्थित सञ्चालन र भाडा अनुगमनमा कमजोरी भएको यात्रुहरूको गुनासो छ।

यात्रुहरूका अनुसार गलौंदीबाट काठमाडौं फर्किन ५०० रुपैयाँ र नारायणगढ जान ६०० देखि ७०० रुपैयाँसम्म भाडा तिर्नुपरेको छ। सडक अवरुद्ध भएको मौका छोपेर सवारीसाधनले मनपरी भाडा असुलिरहेको उनीहरूको गुनासो छ।

यात्रु श्रीराम ठाकुरले माइक्रोबसलगायत सवारीसाधनको व्यवस्थापन प्रभावकारी नभएको बताउनुभयो। यात्रु लैजान सवारीसाधनबीच तँछाडमछाड हुने र बीच सडकमा अव्यवस्थित रूपमा गाडी रोकिँदा यात्रुले सास्ती खेप्नुपरेको उहाँको भनाइ छ।

स्थानीय उमेश बीकेले पनि ट्राफिक प्रहरीको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभयो। उहाँले सवारी व्यवस्थापन, यात्रुसँगको व्यवहार र बढी भाडा असुली नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले आफू फिल्डमै खटिएर अवस्थाबारे बुझिरहेको बताउनुभयो। बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने उहाँले जानकारी दिनुभयो।

दसैँको मुखमा सडक अवरुद्ध हुँदा घर फर्किने यात्रु थप मारमा परेका छन्। यस्तो अवस्थामा सवारीसाधनको लाइन व्यवस्थापन, भाडा अनुगमन र यात्रुमैत्री व्यवहार सुनिश्चित गर्नुपर्ने देखिएको छ।