जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार १६:०४

महाधिवेनशन स्थलबाटै केन्द्रीय सदस्यकी उम्मेद्वार बिनिता खड्का पक्राउबारे गगनले खोले मुख


काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टी नेतृ बिनिता खडकाको पक्राउ प्रकरणमा कठोर जवाफ दिएका छन ।

१५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेकी खड्कालाई महाधिवेशन स्थलबाटै शुक्रवार प्रहरीले पक्राउ गरेको थियो । बिदेश पठाउने भन्दै युवायुवतीबाट करोडौं रकम ठगी गरेको र प्रधानमन्त्रीको सचिवालयमा खास पहुँच रहेको भन्दै ठगेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले खडकालाई पक्राउ गरेको हो ।

सो बिषयमा कांग्रेस सभापति थापाले निर्वाचित भएलगत्तै पत्रकार सम्मेलनमा मुख खोल्नुभयो । वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको आरोप खडकामाथि छ । त्यसबारे शनिवार सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले ब्यक्तिको दागको भारी पार्टीले नबोक्ने भन्दै जोगाउनतिर नलाग्ने बताउनु भयो ।

‘यही महाधिवेशनमा प्रतिस्पर्धा गर्ने एकजना साथीलाई ठगीको मुद्दा लागेको र ठगीको मुद्दा लागेको कारणले गर्दा हिजो मात्र प्रहरीले पक्राउ गरेको समाचार मैले पढेँ । हामी भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता र कानुनको शासनमा विश्वास गर्छौं,’ थापाले भन्नुभयो ।

सभापति थापाले सो बिषयमा प्रष्ट पार्दै व्यक्तिले गरेको दागको भारी पार्टीले नबोक्ने र नबोल्ने बताउनु भयो ।

‘कुनै पनि व्यक्तिले गलत काम गर्छ, कुनै पनि व्यक्तिले गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैँले बोक्नुपर्छ, पार्टीले बोक्दैन । कुनै व्यक्तिलाई लागेको दाग हो भने त्यो व्यक्ति आफैँले मेट्नुपर्छ, पार्टीले त्यो दागको भारी बोक्दैन,’ थापाले भन्नुभयो । पक्राउ परेकी खडका सभापति थापाकै निकट हुनुहुन्छ ।