रामेछाप, असोज २४ । रामेछापमा आयुर्वेदिक उपचार सेवा लिने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। जिल्लाका आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, आयुर्वेद औषधालय तथा नागरिक आरोग्य सेवा केन्द्रबाट सेवा लिनेको सङ्ख्या एक वर्षमै ७ हजार ७२५ ले बढेको हो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभरका आयुर्वेदिक स्वास्थ्य संस्थाबाट १४ हजार ५४९ जनाले सेवा लिएका थिए। आर्थिक वर्ष २०८२/८३ मा उक्त सङ्ख्या बढेर २२ हजार २७४ पुगेको छ। यसले जिल्लामा आयुर्वेदिक उपचार सेवाप्रति नागरिकको आकर्षण र पहुँच बढ्दै गएको देखाएको छ।
चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले शनिबार मन्थलीमा आयोजित जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा प्रस्तुत गर्नुभएको तथ्याङ्कले यस्तो देखाएको हो। उहाँका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा पनि जिल्लाका आयुर्वेदिक स्वास्थ्य संस्थामा सेवाग्राहीको चाप बढिरहेको छ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट ९ हजार २६१, आयुर्वेद औषधालयबाट १ हजार ६६८ र नागरिक आरोग्य सेवा केन्द्रबाट ३ हजार ६१२ जनाले सेवा लिएका थिए। आर्थिक वर्ष २०८२/८३ मा चिकित्सालयबाट १३ हजार ७२८, आयुर्वेद औषधालयबाट २ हजार १२८ र नागरिक आरोग्य सेवा केन्द्रबाट ६ हजार ४१८ जनाले सेवा लिएका छन् ।
कार्यक्रममा कार्यक्रमकाे प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य एवं उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले आयुर्वेदिक स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन संस्थागत सुधार, सरकारी निकायबीच समन्वय र जनचेतना अभिवृद्धिमा जोड दिनुभयो।
तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवा विस्तार तथा जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।
आयुर्वेदिक स्वास्थ्य सेवालाई व्यवस्थित गर्न सके स्वास्थ्य क्षेत्रमा भइरहेको ठूलो खर्च न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो। नेपालका बहुमूल्य जडीबुटी बिदेसिने तर नेपाली नागरिकले महँगो औषधि खरिद गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले स्वदेशी जडीबुटीको सदुपयोगमा ध्यान दिनुपर्ने बताउनुभयो। स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले स्थानीय स्रोतसाधन र जडीबुटीको उपयोगसँग आयुर्वेदिक उपचारलाई जोडेर अघि बढाउनुपर्ने बताउनुभयो। आयुर्वेदिक उपचारसँगै योग, प्राणायाम र प्राकृतिक उपचार पद्धतिबारे जनचेतना अभिवृद्धि गर्न सके नागरिकलाई आफ्नो स्वास्थ्यप्रति थप सचेत बनाउन सकिने उहाँको भनाइ थियो।
जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले चिकित्सालयको सेवा विस्तार र संस्थागत सुदृढीकरणका लागि जिल्ला समन्वय समितिले सहकार्य जारी राख्ने बताउनुभयो। स्वास्थ्य शिविर सञ्चालनका क्रममा आवश्यक सवारीसाधन तथा व्यवस्थापनमा देखिएका कठिनाइ समाधान गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका डा. अभिषेक बज्राचार्यले रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आफ्नो चर्चाअनुसार काम गरिरहेको बताउनुभयो। स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै जिल्लाले अघि बढाएको काम उदाहरणीय रहेको उल्लेख गर्दै उहाँले अन्य जिल्लाले पनि रामेछापको अनुभवबाट सिक्न सक्ने बताउनुभयो।
जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले पछिल्लो समय धेरै मानिस तनावमा रहने भएकाले यसको व्यवस्थापनमा आयुर्वेदको भूमिका महत्त्वपूर्ण हुन सक्ने बताउनुभयो। अन्य स्वास्थ्य सेवा प्रदायक संस्थासँग समन्वय गरेर स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो।
मन्थली नगरपालिकाका प्रवक्ता एवं चिकित्सालयका निवर्तमान अध्यक्ष गाेपाल श्रेष्ठले चिकित्सालय आफूले राखेकाे जगमा टेकेर अघि बढेकाे भन्दै खुसी व्यक्त गर्नुभयाे ।
चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकले आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गएको र सेवा पहुँच विस्तार भइरहेको बताउनुभयो।
उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहलाई समेटेर चालु वर्ष १२ वटाभन्दा बढी निःशुल्क आयुर्वेदिक उपचार शिविर सञ्चालन गर्ने लक्ष्य राखिएको छ। उक्त लक्ष्यअनुसार जिल्लाका विभिन्न स्थानमा हालसम्म चारवटा शिविर सम्पन्न भइसकेका छन्।
नियमित स्वास्थ्य सेवासँगै निःशुल्क स्वास्थ्य शिविर, घरदैलो कार्यक्रम लगायत आयुर्वेदिक स्वास्थ्य सेवालाई नागरिकको पहुँचसम्म पुर्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। चिकित्सालयमा अन्तरंग सेवा सञ्चालनकाे लागि प्रयत्न भइरकाे बताउँदै उहाँले त्यसकाे लागि सहजिकरण गरिदिन सराेकारवाला निकायलाई अनुराेध गर्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्