जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार २०:५३

महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली


काठमाडौं, असोज २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग सम्बन्धमा दरार आएको भन्ने चर्चालाई निराधार भन्दै खण्डन गर्नुभएको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले आफू र महासचिव पोखरेलबीच कुनै मनमुटाव नरहेको स्पष्ट पार्नुभयो।

पछिल्लो समय एमाले वृत्तमा ओली र पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्ने चर्चा भइरहेका बेला अध्यक्ष ओलीले त्यसमा सत्यता नरहेको बताउनुभयो।

महासचिव पोखरेलले अध्यक्षको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले फोन नउठाएको कुरालाई मात्रै आधार बनाएर सम्बन्धमा समस्या रहेको निष्कर्ष निकाल्न नमिल्ने बताउनुभयो।

“बिल्कुलै सत्यता छैन। उहाँसँग मेरो कुनै मनमुटाव छैन। राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन,” अध्यक्ष ओलीले भन्नुभयो।

उहाँले पार्टी सञ्चालन र नीतिगत विषयमा शीर्ष नेतृत्वबीच निरन्तर समन्वय र सौहार्दपूर्ण संवाद कायम रहेको पनि उल्लेख गर्नुभयो।