काठमाडौं, असोज २४ । नेकपा एमालेका सचिव महेश बस्नेतले बढ्दो महँगीका कारण सर्वसाधारणलाई दशैँ, तिहार र छठजस्ता चाडपर्व मनाउन कठिन भएको बताउनुभएको छ।
नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गर्नुभयो। चाडपर्व नजिकिँदै गर्दा महँगीले सर्वसाधारणमाथि आर्थिक भार थपिएको उहाँको भनाइ छ।
गत वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यस वर्ष महँगीका कारण समस्या भोग्न बाध्य भएको बताउँदै उहाँले ग्यास अभावका कारण उपभोक्ता अझै लाइन बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो।
“यसपालि जनता दशैँ, तिहार, छठलगायतका पर्व मनाउन सक्ने अवस्थामा छैनन्। खाद्य सामग्रीको मूल्य दुई सय प्रतिशतभन्दा बढी बढेको छ। दैनिक जनजीवन निकै अस्तव्यस्त छ,” उहाँले भन्नुभयो।
बस्नेतले सरकारको कार्यशैलीका कारण जनता आतंकित बनेको दाबी गर्दै शान्ति सुरक्षा, विकास र समृद्धिका विषयसमेत ओझेलमा परेको बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्