जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार २०:५८

हामी नियमित १५औँ महाधिवेशनको तयारीमा छौँ : प्रकाशमान सिंह


काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूहरू पार्टीको नियमित १५औँ महाधिवेशनको तयारीमा रहेको बताउनुभएको छ।

१४औँ महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक रहेको जिकिर गर्दै उहाँले सोही आधारमा १५औँ महाधिवेशन आयोजना गर्न लागिएको बताउनुभयो।

सभापति शेरबहादुर देउवाले राजीनामा नदिएको अवस्थामा कसैले टुँडिखेलमा बसेर सभापति घोषणा गर्दैमा त्यो मान्य नहुने उहाँको भनाइ छ। पार्टीमा पदका आकांक्षी धेरै देखिएको उल्लेख गर्दै नेता सिंहले पार्टीमा विशेष योगदान पुर्‍याएका व्यक्तिहरूलाई चयन गर्न सुझाव दिनुभयो।

यसैगरी, कांग्रेस नेता मोहनबहादुर बस्नेतले देशभरका नेता तथा कार्यकर्ता पार्टीको सक्रियता र संगठन विस्तारका लागि तयार रहेको बताउनुभयो।

संस्थापनइतर समूहका केही नेता तथा कार्यकर्ता कारबाहीको डर र धम्कीका कारण अर्को पक्षमा गएको उहाँको दाबी छ। केही दिनपछि कांग्रेसका अधिकांश नेता आफ्नै पक्षमा आउने दाबीसमेत बस्नेतले गर्नुभयो।