काठमाडौं, असोज २५ । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदैछ । आजैदेखि शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना पनि सुरु भएको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने परम्परा छ । घटस्थापनाका दिन पूजा कोठा वा दसैँघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको आह्वानसहित पूजा गरिन्छ ।
घटस्थापनाका अवसरमा चोखो स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौँ रोपेर जमरा राख्ने चलन छ । विजयादशमीका दिन टीका र प्रसादसँगै जमरा ग्रहण गर्ने गरिन्छ । जमरालाई समृद्धि र शुभताको प्रतीकका रूपमा लिइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ । सूर्योदयकालमा प्रतिपदा तिथि परेका दिन घटस्थापना गर्ने शास्त्रीय मान्यताअनुसार आजको दिन तय गरिएको समितिले जनाएको छ ।
नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ ।
बडादसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइन्छ । यस अवधिमा देशभरका शक्तिपीठमा पूजा आराधना र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।
दसैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा विशेष पूजा आराधना गरिन्छ । विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ । देवी विसर्जनको साइत भने सोही दिन बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ ।
दसैँलाई धार्मिक तथा सांस्कृतिक पर्वका साथै पारिवारिक पुनर्मिलनको अवसरका रूपमा पनि लिइन्छ । रोजगारी, अध्ययन र विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका मानिसहरू दसैँ मनाउन आफ्नो गाउँघर फर्कने क्रम सुरु भएको छ । दसैँ बिदा सुरु भएसँगै राजधानीलगायत सहरी क्षेत्रबाट घर फर्कनेको चहलपहल बढेको छ ।













प्रतिक्रिया दिनुहोस्