जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार ०६:३१

बूढीगण्डकीमा ठूलो बाढी, नदी किनारका बासिन्दा बिहानै भागदौडमा


गोरखा, असोज २५ । बूढीगण्डकी नदीमा आइतबार बिहान ठूलो बाढी आएपछि नदी किनारका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार बूढीगण्डकीको स्यारखोला क्षेत्रबाट बाढी आएको हो । नदी थुनिने र खुल्ने क्रम दोहोरिरहेको उहाँले जानकारी दिनुभयो ।

चुमनुब्री गाउँपालिका–३ जगतका स्थानीय गणेश कार्कीका अनुसार नदी तीन पटकसम्म थुनिने र खुल्ने भएको थियो । समाचार तयार पार्दासम्म नदी पुनः थुनिएको उहाँले बताउनुभयो ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै जगत, सल्लेरी, सिर्दिवास, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई माइकिङ तथा फोनमार्फत सुरक्षित स्थानमा सर्न आग्रह गरिएको प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिनुभयो ।

स्थानीय सेराप गुरुङका अनुसार बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित बाढी आएपछि लोक्पाका बासिन्दासमेत घर छाडेर भागेका थिए ।

नदी थुनिने र अचानक खुल्ने क्रम जारी रहेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।