जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १०:०८

बूढीगण्डकीमा बाढी : घर र पुल बगायो, बेनीघाटसम्म सतर्कता अपनाउन आग्रह


काठमाडौं, असोज २५ । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि बूढीगण्डकीमा एक्कासि लेदोसहितको ठूलो बाढी आएको छ । बाढीले घर तथा पुल बगाउनुका साथै नदी तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् ।

बाढीले चुमनुब्री गाउँपालिकाको पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरीलगायतका क्षेत्रमा पनि ठूलो क्षति भएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो ।

बाढीले आरुघाट गाउँपालिकाको सोती र मान्बु जोड्ने मोटरेबल पुल, चुमनुब्री–३ सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल तथा धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ ।

धार्चे गाउँपालिका–५ माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै सङ्ख्यामा टहरामा पानी पसेको प्रहरीले जनाएको छ । धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घरसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ ।

बाढीको जोखिम बढेपछि प्रहरीले बूढीगण्डकी नदी किनारमा नजान र सुरक्षित अग्लो स्थानमा बस्न आग्रह गरेको छ । नदी मिसिने धादिङको बेनीघाटसम्मका तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आरुघाटमा बूढीगण्डकीले खतरा तह पार गरेको छ र पानीको सतह बढ्ने क्रममा छ । महाशाखाले त्रिशूली नदीसँगको दोभानसम्म नदी किनारमा नजान आग्रह गरेको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ । गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रमा हेलिकोप्टर परिचालन भइसकेको जानकारी दिँदै नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ ।