गोरखा, असोज २५ । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहित आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । बाढीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणाधीन क्याम्प, विद्यालय र पैयूँ तथा बगर गाउँका करिब ४० घर बगाएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बाढीबाट भएको मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । बाढीले चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प र त्यहाँ रहेका केही उपकरणसमेत बगाएको छ ।
३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजनाको निर्माणका लागि राखिएको क्याम्प बाढीले बगाएको हो । बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति पुर्याएको छ ।
बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुलसमेत बगाएको छ ।
प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार चुमनुब्री गाउँपालिका–६ को लोप्पा क्षेत्रमा सुक्खा पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि भीषण बाढी आएको हो । आइतबार बिहान करिब ४ बजेतिर ठूलो आवाजसहित बाढी आएको थियो ।
नदी थुनिने र खुल्ने क्रम जारी रहेकाले आसपासका बस्तीमा जोखिम बढेको छ । बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
बाढीबाट भएको थप क्षतिको विवरण सङ्कलन भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्