गोरखा, असोज २५ । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको सोती र माछीखोलाका पुल बगाएको छ । बाढीमा परी पशुको हेरचाहमा खटिएका चार जना सम्पर्कविहीन भएका छन् ।
चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोलाको पुल बगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले माछीखोला बजारमा समेत क्षति पुर्याएको छ । आरुघाट गाउँपालिकाको सोती र मान्बु जोड्ने पुल पनि बाढीले बगाएको छ ।
बाढीले उङगिलुङ खोला किनारमा रहेका चारवटा गोठसमेत बगाएको छ । गोठमा बाँधिएका १५ वटा याक र नाकसमेत बगेका छन् । पशुको हेरचाहमा बसेका चार जना भने सम्पर्कविहीन रहेको जनाइएको छ ।
बाढीबाट भएको थप क्षतिको विवरण आउन बाँकी छ ।













प्रतिक्रिया दिनुहोस्