जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १०:१५

मोरङमा तरकारी बोकेको गाडीबाट ५७० किलो गाँजा बरामद


विराटनगर, असोज २५ । मोरङमा तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट ५७० किलो गाँजा बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार शनिबार राति जहदा गाउँपालिका–४ स्थित रामचोकबाट गाँजा बरामद गरिएको हो । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले राति करिब ११ बजे उक्त भ्यान नियन्त्रणमा लिएको थियो ।

भारततर्फ जाँदै गरेको प्रदेश १–०१–०० च ७४२२ नम्बरको भ्यान रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले गाडीमा खानतलासी गर्दा स्कुस र बन्दाकोपीको बीचमा लुकाएर राखिएका १९ पोका गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

तौल गर्दा बरामद गाँजा ५७० किलो रहेको पुष्टि भएको छ । गाँजा र पिकअप भ्यानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।