जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १०:१७

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा सेनाको हवाई र पैदल टोली परिचालित


काठमाडौं, असोज २५ । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको अवस्था बुझ्न नेपाली सेनाले काठमाडौंसहित विभिन्न स्थानबाट टोली परिचालन गरेको छ ।

नेपाली सेनाका अनुसार प्रभावित क्षेत्रको निरीक्षण तथा उद्धार कार्यका लागि हेलिकोप्टरसहित हवाई टोली र पैदल टोली खटाइएको छ । उद्धार सामग्रीसहित स्थानीयस्तरमा रहेको सेनाको टोलीलाई समेत परिचालन गरिएको छ ।

परिचालित टोलीले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी सङ्कलन गर्नुका साथै आवश्यकताअनुसार उद्धार तथा राहत कार्यमा सहयोग गर्ने जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीसमेत परिचालित भएका छन् ।