जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १३:४१

पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको प्रारम्भिक अनुमान


काठमाडौं, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढी पहिरोले नदी थुनिएर पछि फुट्दा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले विज्ञप्ति जारी गर्दै बाढीको उद्गमस्थल र आसपासका क्षेत्रमा ठूलो बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएको थियो । प्रारम्भिक सूचना र भू–उपग्रहका तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

महाशाखाका अनुसार बाढी आउनुको वास्तविक कारण पत्ता लगाउन विस्तृत प्राविधिक विश्लेषण भइरहेको छ ।

बाढीको प्रारम्भिक जानकारी आइतबार बिहान ६ बजे प्राप्त हुनासाथ बूढीगण्डकी नदीको तटीय क्षेत्र हुँदै धादिङको बेनीघाटसम्मका बासिन्दालाई मोबाइल सन्देश (एसएमएस) मार्फत पूर्वसूचना पठाइएको महाशाखाले जनाएको छ ।

नदीमा बाढीको बहाव घट्दै गए पनि जोखिम पूर्ण रूपमा नहटेको महाशाखाले स्पष्ट पारेको छ । बूढीगण्डकीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार बेलुकासम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।