रामेछाप, असोज २५ । रामेछापको उमाकुण्ड गाउँपालिका–२, बाम्तीभण्डारमा निर्माण सम्पन्न १० शय्याको बाम्ती आधारभूत अस्पताल उद्घाटन गरिएको छ। २०७७ सालमा शिलान्यास गरिएको अस्पताल ६ वर्षपछि निर्माण सम्पन्न भई आइतबार उद्घाटन गरिएको हो।
उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यतामा अस्पताल उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। वडा नं. २ का वडाध्यक्ष खम्बाध्वज बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अस्पताल निर्माणका लागि संघीय सरकारबाट ८ करोड ४९ लाख रुपैयाँ र स्थानीय सरकारबाट ७० लाख रुपैयाँ गरी कुल ९ करोड १९ लाख रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष सुनुवारले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले १० शय्याको अस्पताल सञ्चालनका लागि कम्तीमा २२ जना कर्मचारी आवश्यक पर्ने बताउनुभयो। उहाँका अनुसार अस्पतालमा एमबीबीएस उत्तीर्ण मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, कविराज, डेन्टल हाइजिनिस्टलगायत प्रशासनिक तथा अन्य कर्मचारी आवश्यक पर्नेछन्।
अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न भए पनि आवश्यक जनशक्ति व्यवस्थापन गरी नियमित र प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्नु प्रमुख चुनौतीका रूपमा देखिएको छ। आवश्यक कर्मचारीको व्यवस्था गरी अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके उमाकुण्ड गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकले स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

हाल उपचारका लागि टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता भोगिरहेका स्थानीय बासिन्दालाई अस्पताल सञ्चालनमा आएपछि सहज हुने विश्वास लिइएको छ। अस्पतालबाट नियमित स्वास्थ्य सेवा उपलब्ध हुन सके समय र खर्चको बचत हुनुका साथै आकस्मिक अवस्थामा समेत स्थानीय नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवार, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न माध्यमबाट सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा उमाकुण्ड गाउँपालिका–३, कुम्बकास्थलीका वडाध्यक्ष गुणबहादुर थापा ‘नवीन’, वडा नं. २ का वडा सदस्य ङावा तेम्बा शेर्पा र दलित महिला सदस्य आसा माया गजमेरलगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
अस्पतालको निर्माण सम्पन्न भएसँगै स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। आवश्यक जनशक्ति तथा सेवा सुविधाको व्यवस्थापन गरी अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके उमाकुण्डवासीलाई सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।













प्रतिक्रिया दिनुहोस्