जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १५:२२

कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता


काठमाडौं, असोज २५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्रकान्त भण्डारी र प्रदीप पौडेलले फराकिलो अग्रता लिनुभएको छ ।

हालसम्म गणना भएको २ हजार २ सय ३१ मतमा उपसभापतिको खुलातर्फ भण्डारीले १ हजार ५७ र महामन्त्रीको खुलातर्फ पौडेलले १ हजार ३ सय ८१ मत प्राप्त गर्नुभएको छ ।

उपसभापतिको खुलातर्फ दुई र समावेशीतर्फ एक पदका लागि प्रतिस्पर्धा भइरहेको छ । खुलातर्फ भण्डारीले अग्रता लिए पनि दोस्रो र तेस्रो स्थानका उम्मेदवारबीच प्रतिस्पर्धा छ ।

दोस्रो स्थानमा रहेका मधु आचार्यले ७ सय १२ मत पाउँदा तेस्रो स्थानका सुरेन्द्रराज पाण्डेले ६ सय ८० मत प्राप्त गरेका छन् । आचार्य र पाण्डेबीच ३२ मतको मात्र अन्तर छ । पाण्डेभन्दा चौथो स्थानका गोविन्द भट्टराई ७१ मतले पछाडि हुनुहुन्छ । उहाँले ६ सय ९ मत पाउनुभएको छ ।

उपसभापतिको खुलामा नै धनराज गुरुङले ४ सय ६, दीपक गिरीले ३ सय १ र प्राडा. चन्द्रमोहन यादवले १ सय ९३ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपसभापतिको समावेशीतर्फ एक पदका लागि विनोदकुमार चौधरी र जीवन परियारबीच प्रतिस्पर्धा देखिएको छ ।

चौधरीले ६ सय १५ मत पाउँदा परियारले ५ सय ७८ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच ३७ मतको अन्तर छ । सीता गुरुङले ३ सय ३४, फरमुल्लाह मन्सुरले २ सय ८५ र रञ्जित कर्णले १ सय ८३ मत पाएका छन् ।

महामन्त्रीको खुलातर्फ दुई र महिलातर्फ एक पदका लागि मतगणना भइरहेको छ । खुलातर्फ प्रदीप पौडेलले १ हजार ३ सय ८१ मतसहित अग्रता लिनुभएको छ । दोस्रो स्थानमा रहनुभएका उदयशमशेर राणाले ७ सय ८६ र तेस्रो स्थानका अमरसिंह पुनले ६ सय ९५ मत प्राप्त गर्नुभएको छ । राणा र पुनबीच ९१ मतको अन्तर छ । पौडेल र राणाबीच भने ५ सय ९५ मतको अन्तर छ ।

महामन्त्रीको खुलातर्फ पौडेलपछि राणा र पुनबीच प्रतिस्पर्धा देखिएको छ । अन्य उम्मेदवारमा सुनिलकुमार शर्माले ५ सय २६, गुरुराज घिमिरेले ३ सय २८, नैनसिंह महरले २ सय ७०, शंकर तिवारीले ४६ र सन्तोष उपाध्यायले २८ मत पाउनुभएको छ ।

महिला महामन्त्रीमा डिला संग्रौला र महालक्ष्मी उपाध्याय (डिना) बीच कडा प्रतिस्पर्धा देखिएको छ । संग्रौलाले ९ सय ६५ मत पाउँदा डिनाले ९ सय ५२ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच १३ मतको मात्र अन्तर छ । यस्तै अर्की उम्मेद्वार रिता खनालले २ सय ५१ मत पाउनुभएको छ ।