काठमाडौं, २५ असोज । दसैँका बेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव हुन नदिन सरकारले जुनसुकै कम्पनीको खाली सिलिन्डर साटेर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सकिने व्यवस्था गरेको छ।
आजदेखि असोज ३१ गतेसम्म लागू हुने व्यवस्थाअनुसार उपभोक्ताले फरक ब्रान्डको सिलिन्डर साट्दा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। भरिएको सिलिन्डरको तोकिएको मूल्य मात्र बुझाए पुग्नेछ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौं र ललितपुरका ६ वटा बिक्री केन्द्रबाट बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म सिलिन्डर साट्न सकिनेछ। जुनसुकै ब्रान्डको सिलिन्डर साट्न पाउने भएपछि ग्यास लिन उपभोक्ता बिहानैदेखि लाइनमा बसेका छन्।
संघले काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेस्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास उपलब्ध गराउने व्यवस्था गरेको छ।
त्यसैगरी, सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध हुनेछन्।
संघका अध्यक्ष दिवान चन्दले सिलिन्डर साट्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्थाले उपभोक्तालाई राहत पुग्ने बताउनुभयो। उहाँले लाइनमा बसेका सबै उपभोक्तालाई ग्यास उपलब्ध गराउने प्रयास गरिने जानकारी दिनुभयो।













प्रतिक्रिया दिनुहोस्