जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १७:११

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट तथा दुर्व्यवहारको आरोपमा दुई जना पक्राउ


काठमाडौं, असोज २५ । काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २२ गते बिहान १०ः३४ बजे बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित विद्यालय परिसरमा कुटपिट भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भई हाल कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई अश्लील शब्द प्रयोग गरी गालीगलौज तथा धम्की दिएका थिए।

त्यस्तै, सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्दै आएका ४४ वर्षीय ध्रुवप्रसाद घिमिरेको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो।