काठमाडौं, असोज २५ । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले घर, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीमा पाँच जना सम्पर्कविहीन भएका छन् भने ४७ जनाको सकुशल उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हालसम्म बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको छैन । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि लेदो र गेग्रानसहितको बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।
बाढीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र निर्माणमा प्रयोग भइरहेका उपकरण बगाएको छ । दुईवटा टेलिफोन टावर र ५० वटा बिजुलीका पोलमा समेत क्षति पुगेको छ ।
बाढीले गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल पनि बगेको छ । न्याकचेतदेखि सिर्दिबास जोड्ने झोलुङ्गे पुल र धार्चेको माछीखोलाबाट केरौजा जोड्ने पुलमा समेत क्षति पुगेको छ ।
त्यस्तै, बाढीले सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा आयोजनाको विद्युत्गृह र आसपासका घरमा क्षति पुर्याएको छ । धार्चेको माछीखोलाको तल्लो बस्तीमा बाढी पसेको छ भने सल्लेरीका केही घर जोखिममा परेका छन् ।
सरकारले जोखिममा परेका नागरिकको उद्धार र प्रभावित क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरी हवाई उद्धार भइरहेको छ । उद्धार कार्यमा ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्