काठमाडौं, असोज २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भएकाले यस विषयमा विवाद गर्न आवश्यक नरहेको बताउनुभएको छ । उहाँले नयाँ पुस्तालाई तालिम, क्षमता विकास र अनुभवका आधारमा क्रमशः नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिनुभएको छ ।
पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुस्तान्तरणका लागि निश्चित विधि, प्रक्रिया र योग्यता आवश्यक पर्ने बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई तत्काल नेतृत्व हस्तान्तरण गर्न दबाब दिनु उपयुक्त नहुने धारणा राख्नुभयो । समाजमा पुस्तान्तरणको नाममा विभाजन सिर्जना गर्ने प्रयास भइरहेको उहाँको आरोप थियो ।
जात, धर्म र भूगोलका आधारमा समाजलाई विभाजन गर्न नसकेपछि अहिले बाबुछोरा तथा हजुरबा–नातिबीच पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको उहाँले बताउनुभयो ।
नयाँ पुस्ताले नेतृत्व लिनुअघि आवश्यक योग्यता, दक्षता र अनुभव हासिल गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले प्राध्यापक बन्न पनि लेक्चररबाट सुरु गर्नुपर्ने उदाहरण दिनुभयो । नेतृत्वमा पुग्न क्रमशः जिम्मेवारी सम्हाल्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले आफूहरू पनि कम उमेरमै नेतृत्व तहमा पुगेको बताउँदै तत्कालीन समय र अहिलेको परिस्थितिलाई तुलना गर्न नमिल्ने धारणा राख्नुभयो । १९ वर्षको व्यक्तिले पार्टी प्रमुख हुनुपर्छ भन्ने माग हास्यास्पद हुने उहाँको टिप्पणी थियो ।
“हस्तान्तरण, पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, तर त्यसको प्रक्रिया हुन्छ । यहाँनेर युवा, युवा, युवा भनेर हल्ला चलाइदिएका छन् । यतिबेला पार्टी एकता चाहिएको छ । सम्पूर्ण कार्यकर्ता पङ्क्ति एकजुट भएर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।
कुनै व्यक्तिले जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था आएमा नेतृत्वबाट आफैँ हट्ने पनि अध्यक्ष ओलीले बताउनुभयो । उहाँले पुस्तान्तरणलगायतका विषयमा अनावश्यक विवाद नगरी पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले एउटा निर्वाचनमा पराजित हुँदैमा एमाले कमजोर नहुने दाबी गर्नुभयो । उहाँले देशलाई सही दिशामा अघि बढाउने क्षमता एमालेसँग रहेको जिकिर गर्दै कार्यकर्तालाई उच्च मनोबलका साथ जागरण अभियानमा जुट्न आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्