जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १९:१४

विपद्‌मा सरकारले साँघुरो मन देखायो : अध्यक्ष ओली


काठमाडौं, २५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बूढीगण्डकीमा आएको बाढीपछि उद्धार तथा राहत व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनुभएको छ । उहाँले राष्ट्रिय विपत्तिको समयमा समेत सरकारले फराकिलो सोच राख्न नसकेको टिप्पणी गर्नुभयो ।

पार्टीको ‘मिसन जागरण अभियान’ अन्तर्गत आइतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपद्का बेला सरकारी स्रोतसाधनको प्रभावकारी उपयोग हुन नसकेको बताउनुभयो ।

सरकारी हेलिकोप्टरको प्रयोगलाई लिएर प्रश्न उठाउँदै उहाँले विपद्का बेला उद्धारमा केन्द्रित हुनुपर्ने साधनको दुरुपयोग भएको आरोप लगाउनुभयो ।

“सरकारी हेलिकोप्टर कुनै संस्थाको निजी सम्पत्तिजस्तो, कहिल्यै हेलिकोप्टर चढ्न नपाएको छ भने चढाउने अवसर मिलेजस्तो, त्यस्तो खालको स्थिति रह्यो,” उहाँले भन्नुभयो ।

यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका बेला पनि उद्धारमा हेलिकोप्टरको दुरुपयोग भएको तथा राहत र उद्धारका काम समयमै हुन नसकेको अध्यक्ष ओलीको आरोप थियो । आगामी दिनमा त्यस्ता कमजोरी नदोहोर्‍याउन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

विपद् व्यवस्थापनजस्तो संवेदनशील विषयमा सरकारले सबै पक्षलाई समेट्न नसकेको उहाँको टिप्पणी थियो । संकटका बेला सर्वदलीय समिति गठन गरेर उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सकिने भए पनि सरकारले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो ।

“सरकार फराकिलो मन र फराकिलो पनका साथ उद्धार कार्यमा अगाडि बढोस् । सरकारले एउटा सर्वदलीय समितिसम्म बनाउने फराकिलोपन पनि देखाउन सकेन । कति साँघुरो मन, साँघुरोपन देखायो,” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग समयमै स्वीकार र सदुपयोग गर्न नसक्दा उद्धार अभियान प्रभावित भएको दाबीसमेत गर्नुभयो ।

“वैदेशिक सहयोगको उचित सदुपयोग गर्न सकिएन । समयमा स्वीकार नगर्दा अनावश्यक रूपमा उद्धार अभियानको अभावमा थुप्रै नागरिकले ज्यान गुमाउनुपरेको मान्न सकिन्छ,” उहाँले भन्नुभयो ।

सरकारको मुख मात्र ताकेर नबस्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै अध्यक्ष ओलीले बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा खटिन निर्देशन दिनुभयो ।

“आज फेरि अर्को विपत्ति आइरहेको छ, बूढीगण्डकीमा बाढी गएर । केही घर बगाएको छ, केही व्यक्ति बेपत्ता हुनुभएको छ र निकै ठूलो क्षति भएको छ,” उहाँले भन्नुभयो, “यस विपत्तिको घडीमा उद्धार र राहत कार्यमा जुट्न तथा आवश्यकताअनुसार पुनर्निर्माण एवं पुनःस्थापनामा सहयोग गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्न चाहन्छु ।”