काठमाडौं, असोज २५ । त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार सूचना जारी गर्दै सडक मर्मतपछि सवारी आवागमन दुवैतर्फ सञ्चालनमा ल्याइएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार गजुरी गाउँपालिका–५ स्थित गलौंदी क्षेत्रमा सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको हो ।
यसअघि सडक भासिएपछि प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त राजमार्गमा चल्ने सबै सवारीसाधनको आवागमन रोकेको थियो । त्यसपछि नजिकै डाइभर्सन निर्माण गरी साना तथा मझौला सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइएको थियो ।
सडक मर्मतपछि हाल सबै सवारीसाधनका लागि दुईतर्फी आवागमन खुला गरिएको भए पनि जोखिम पूर्ण रूपमा हटिसकेको छैन । केही स्थानमा मर्मतको काम जारी रहेकाले प्रशासनले चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रशासनले जारी गरेको सूचनामा सडक मर्मत कार्य केही स्थानमा जारी रहेको र जोखिमसमेत कायम रहेकाले उक्त राजमार्ग भएर यात्रा गर्ने तथा गराउने सबैलाई अत्यन्त सावधानी अपनाउन अनुरोध गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्