जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १९:१७

आफ्नैले छुरा हाने, कता जोगिने ? बाँचुन्जेल वैरीसामु झुक्दिनँ : अध्यक्ष ओली


काठमाडौं, असोज २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निकट व्यक्तिहरूबाट धोका पाएको टिप्पणी गर्दै आफूविरुद्ध चौतर्फी हमला भइरहेको बताउनुभएको छ । उहाँले जस्तोसुकै परिस्थिति आए पनि आफू नझुक्ने र देशका लागि लडिरहने बताउनुभयो ।

पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रै आफूविरुद्ध गतिविधि भइरहेको संकेत गर्नुभयो । नजिकका साथी भनिएकाहरूबाटै धोका पाएको उहाँको भनाइ थियो ।

“यसो हेर्‍यो आफ्नै साथी जस्तो लाग्छ । कमरेड भन्छ, नजिक आउँछ, कमरेड भन्छ, ग्याम्म छुरी हान्छ । यो पनि देखियो । कता जोगिने ? कता नजोगिने ?” उहाँले भन्नुभयो ।

आफूलाई यस्ता गतिविधिले कमजोर बनाउन नसक्ने बताउँदै अध्यक्ष ओलीले आफू सजिलै पराजित नहुने दाबी गर्नुभयो ।

“मैले अस्ति भेलामा पनि भनेको थिएँ । भीष्म पिताजति म बूढो भएको छैन, ढल्दिनँ । जति हाने पनि ढल्दिनँ,” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले ५७ वर्षअघि कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियानमा आफू लागेको स्मरण गर्नुभयो । राजनीतिक यात्राका क्रममा जेल जीवन बिताउनुपरेको र विभिन्न आरोप तथा मुद्दा खेप्नुपरेको उहाँले बताउनुभयो ।

आफूले व्यक्तिगत स्वार्थभन्दा देश र जनताको हितलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै अध्यक्ष ओलीले जीवनभर देशका लागि संघर्ष गरिरहने बताउनुभयो ।

“मलाई इच्छा मरण चाहिँदैन । बाँचुन्जेलसम्म वैरीसामु झुकिँदैन । लडिन्छ यो देशका लागि र मलाई चिन्ता छैन । किनभने मैले मेरो लागि कामै गरेको होइन । सधैँ मैले देश र जनताका लागि काम गरेको छु,” उहाँले भन्नुभयो ।