काठमाडौं, असोज २५ । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको विजय सुनिश्चित भएको छ । आइतबार रातिसम्मको मतगणनामा दुवै उम्मेदवारले फराकिलो अग्रता बनाएपछि उनीहरूको जित निश्चित भएको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ६ हजार मतगणना हुँदा खुला उपसभापतिमा भण्डारीले ३ हजार १०६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी मधु आचार्यले १ हजार ९२० मत पाउनुभएको छ ।
कांग्रेसमा खुला उपसभापतिका दुई पदका लागि निर्वाचन भएको हो । कुल ७ हजार ३९ मत खसेकोमा अब करिब एक हजार मत गणना हुन बाँकी छ । भण्डारी र आचार्यबीचको मतान्तर बाँकी मतभन्दा बढी रहेकाले भण्डारीको जित सुनिश्चित भएको हो ।
यस्तै, खुला महामन्त्रीमा प्रदीप पौडेलले ६ हजार मत गणना हुँदा ३ हजार ४९३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धीहरूभन्दा फराकिलो मतान्तर रहेकाले पौडेलको जित पनि सुनिश्चित भएको छ ।
महामन्त्रीका खुलातर्फ दुई पद रहेका छन् । तीमध्ये पौडेलको जित निश्चित देखिए पनि अर्को पदमा भने प्रतिस्पर्धा जारी छ । उक्त पदमा उदयशमशेर राणा अगाडि रहनुभएको छ भने सुनील शर्मा उहाँलाई पछ्याइरहनुभएको छ ।
उपसभापतिको खुलातर्फको अर्को पदमा मधु आचार्यको अग्रता छ । बाँकी मतगणनाले उहाँको प्रतिस्पर्धीको अन्तिम अवस्था निर्धारण गर्नेछ ।
महामन्त्रीको महिला तथा समावेशी समूहका पदमा पनि प्रतिस्पर्धा जारी छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा कांग्रेसको नयाँ नेतृत्वका लागि पदाधिकारी तहको प्रतिस्पर्धा थप चासोपूर्ण बनेको छ ।













प्रतिक्रिया दिनुहोस्