जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार ०६:३५

कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डीला संग्रौला विजयी, कस्को कति मत ? (सूचीसहित)


काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री पदमा प्रदीप पौडेल, उदय शमशेर राणा र डा. डीला संग्रौला पन्त निर्वाचित हुनुभएको छ।

महामन्त्रीका दुई खुला पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै विजयी हुनुभयो। उदय शमशेर राणाले २ हजार ३३० मत प्राप्त गरी महामन्त्रीमा निर्वाचित हुनुभयो।

राणालाई पछ्याउँदै डा. सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गर्नुभयो। निवर्तमान महामन्त्री गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नुभयो।

यसैगरी, महिला कोटातर्फ डा. डीला संग्रौला पन्त ३ हजार ११८ मत प्राप्त गर्दै महामन्त्रीमा निर्वाचित हुनुभयो। उहाँकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले २ हजार ८६४ मत प्राप्त गर्नुभयो भने रीता खनालले ८०४ मत प्राप्त गर्नुभयो। आइतबार राति सार्वजनिक मतपरिणामअनुसार कांग्रेसको महामन्त्री पदमा तीनै जना उम्मेदवार निर्वाचित हुनुभएको हो।