जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार ०६:३९

पश्चिमी र मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं, असोज २६ । नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।