जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार ०६:४१

मादक पदार्थ सेवन गरेर रात्रिबस चलाउने दुई चालक पक्राउ


काठमाडौं, असोज २६ । मादक पदार्थ सेवन गरेर रात्रिबस चलाएको आरोपमा दुई जना चालकलाई काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आइतबार नयाँ बसपार्कमा गरेको मापसे जाँचका क्रममा बलराम चौधरी र लोचन रानामगरलाई नियन्त्रणमा लिएको हो।

ट्राफिक प्रहरीका अनुसार जाँच गर्दा दुवै चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो। पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कको जिम्मा लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो।

सुवेदीले सवारी चालकको हातमा दर्जनौँ यात्रुको जीवन रहने भएकाले लापरबाही नगर्न आग्रह गर्नुभयो। मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले जिम्मेवार भएर सवारी सञ्चालन गर्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ।

रात्रिकालीन सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले मापसे जाँचलाई निरन्तरता दिएको जनाएको छ।

पक्राउ परेका चालकले चलाइरहेका बसका यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन सम्बन्धित यातायात समितिसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइएको पनि ट्राफिक प्रहरीले जनाएको छ।