काठमाडौं, असोज २६ । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार दसैँ घर तथा पूजा कोठामा घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो। आज घटस्थापना गरिएको स्थानमा ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधना र पूजाबाट शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष पूजा गर्छन्।
नौ दिनसम्म पूजा आराधना गरेपछि देवीको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ।
सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनामा लागिरहने मान्यताका आधारमा नवदुर्गामध्येकी दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको धार्मिक मान्यता छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ। हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि राज्यका तर्फबाट विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्