जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार १४:०१

पूर्व-पश्चिम राजमार्गको बर्दघाटमा पल्टियो यात्रुवाहक बस, चालक र सहचालकसहित ७ जना घाइते


नवलपरासी पश्चिम, असोज २६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ स्थित एस मोड नजिक यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन् ।

काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस असोज २६ गते सोमबार बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनाका बेला बसमा करिब ४० देखि ४५ जना यात्रु सवार थिए ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ । घाइतेमध्ये अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढको अवस्था मध्यम रहेको छ ।

अन्य घाइतेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, मार्मा गाउँपालिका–३ का ३० वर्षीय भगवती अवस्थी र सोही स्थानका ४८ वर्षीय धनञ्जय जोशी रहनुभएको छ । त्यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का पनि घाइते हुनुभएको छ ।

दुर्घटनामा बसचालक कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र विक र सहचालक गोदावरी नगरपालिका–१ का ४६ वर्षीय मोहन जोशीसमेत घाइते भएका छन् । मौसमीबाहेक अन्य ६ जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

बस पल्टिने क्रममा सोही दिशाबाट आइरहेको एचआर ३९ जी २८७६ नम्बरको भारतीय ट्रकमा समेत सामान्य ठक्कर लागेको थियो । ठक्करबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।

दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको नेतृत्वमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।