काठमाडौं, २६ असोज । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानुनी अधिकारमा मात्र नभई नागरिकले गर्ने विश्वासमा निहित रहेको बताउनुभएको छ।
प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले प्रहरी सङ्गठनलाई प्रविधिमैत्री, पारदर्शी र पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो।
आईजीपी कार्कीले साइबर अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता बदलिँदा सुरक्षा चुनौती सामना गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैलीमा व्यापक परिवर्तन गर्नुपर्ने बताउनुभयो। प्रहरी कर्मचारी बाह्य प्रभाव, व्यक्तिगत आग्रह र अनुचित दबाबबाट मुक्त रही निष्पक्ष रूपमा कानुन कार्यान्वयनमा खटिनुपर्ने उहाँको भनाइ छ।
“नेपाल प्रहरीलाई सक्षम, सुदृढ, पारदर्शी, प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी सङ्गठनका रूपमा विकास गर्न हामी निरन्तर प्रयासरत छौँ,” उहाँले भन्नुभयो, “प्रहरीको शक्ति कानुनले प्रदान गरेको अधिकारमा मात्र होइन, नागरिकले गर्ने विश्वासमा पनि निहित हुन्छ।”
प्रहरीका निर्णयसँग नागरिक असहमत भए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो।
आईजीपी कार्कीले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिसँगको व्यवहारमा थप संवेदनशीलता अपनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।
नागरिकको विश्वास कायम राख्न निष्पक्षता, व्यावसायिकता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।














प्रतिक्रिया दिनुहोस्