जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार १८:३९

जलवायु जोखिम घटाउन पर्यावरणमैत्री पूर्वाधारमा जोड दिऊँ : भण्डारी


काठमाडौं, असोज २६ । नेकपा (एमाले) की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षण र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ।

सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले नेपाल जलवायु परिवर्तनका दृष्टिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्नुभयो।

तापक्रममा भइरहेको असन्तुलित वृद्धिले विश्वभर गम्भीर चुनौती सिर्जना गरिरहेको भन्दै उहाँले हिन्दुकुश हिमालय क्षेत्रमा पर्ने नेपालमा यसको जोखिम अझ बढी रहेको बताउनुभयो।

हिमाली क्षेत्रमा दोहोरिइरहेका विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको स्पष्ट पारेको उहाँको भनाइ छ।

“विपद्पछिको उद्धार र राहतसँगै भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका लागि वातावरण संरक्षण र सुरक्षित तथा पर्यावरणमैत्री पूर्वाधार निर्माणमा पनि दीर्घकालीन ध्यान दिन आवश्यक छ,” भण्डारीले भन्नुभयो।

उहाँले विपद् आइसकेपछि उद्धार र राहतमा मात्र केन्द्रित नभई सम्भावित जोखिमको पूर्वानुमान, पूर्वतयारी र क्षति न्यूनीकरणका उपायलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

जलवायु परिवर्तनका चुनौती सामना गर्न तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य तथा समन्वय आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो।