जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार १८:४२

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : नैतिकता र निष्ठामा सम्झौता नगर्नू


काठमाडौं, असोज२६ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी कर्मचारीलाई पेसागत जिम्मेवारी निर्वाह गर्दा नैतिकता, निष्ठा र इमानदारीमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभएको छ।

सोमबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न निर्देशन दिनुभयो।

उहाँले पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि तथा मापदण्डको सही पालना गर्नुपर्ने बताउनुभयो। जिम्मेवारीप्रति जवाफदेही हुनु पनि पेसागत सफलताको महत्त्वपूर्ण आधार भएको उहाँको भनाइ छ।

“पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु–गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहम आवश्यकता पर्दछ,” प्रधानमन्त्री शाहले भन्नुभयो।

नेपालमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकको स्वतन्त्रताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको उहाँले उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहले प्रहरी कर्मचारीलाई कुनै पनि अनुचित प्रभावमा नपरी भेदभावरहित ढङ्गले कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो। नागरिकको भावना र अपेक्षाअनुसार काम गर्दै सङ्गठनप्रति प्रतिबद्ध रहनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग गर्न जोड

प्रधानमन्त्री शाहले सूचना प्रविधिको सही प्रयोगबाट प्रहरीको काम छिटो, सहज, प्रभावकारी र पारदर्शी बनाउन सकिने बताउनुभयो।

प्रविधिको प्रयोगले समयमै अपराध अनुसन्धान गर्न र घटनालाई नियन्त्रणमा लिन सहयोग पुग्ने उहाँको भनाइ छ।

“अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ,” उहाँले भन्नुभयो।

प्रधानमन्त्री शाहले अपराध अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। यसका लागि प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ।

समारोहमा तालिम पूरा गरेका ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकलाई बधाई दिँदै सफल कार्यकाल र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। प्रहरी सेवामा आबद्ध रहँदा निरन्तर प्रेरणा र सहयोग प्रदान गर्ने परिवारजनप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो।