जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार १८:४८

महामन्त्रीमा पराजित भएपछि सुनिल शर्माले भने– पार्टी रूपान्तरणको संकल्प यथावत्


काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका डा. सुनिलकुमार शर्माले पार्टी रूपान्तरण र जनसेवाप्रतिको आफ्नो संकल्प यथावत् रहेको बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शर्माले राजनीतिमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पदमा रहे पनि नरहे पनि पार्टी र नागरिकको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको हो।

उहाँले आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि मात्र नभई नेपाली कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने उद्देश्यबाट प्रेरित रहेको स्पष्ट पार्नुभएको छ।

“महान् नेता बीपी कोइरालाको विचार र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने मेरो प्रतिबद्धता आज पनि उत्तिकै दृढ छ,” शर्माले लेख्नुभएको छ।

महामन्त्रीमा पराजित भए पनि उहाँले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने महाधिवेशन प्रतिनिधि, अग्रज नेता, सहयात्री र शुभेच्छुकप्रति उहाँले आभार प्रकट गर्नुभएको छ।

प्राप्त मत र सद्भावले आगामी दिनमा अझ सशक्त रूपमा काम गर्ने प्रेरणा मिलेको शर्माले बताउनुभएको छ।

“पदमा रहेर वा नरहेर, पार्टी र देशका दूरदराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित थिएँ। कांग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कारको स्थापनाका लागि मेरो प्रयास र सक्रियता निरन्तर जारी रहनेछ,” उहाँले उल्लेख गर्नुभएको छ।

शर्माले आगामी दिनमा निर्वाचित पदाधिकारी, प्रतिस्पर्धामा उत्रिएका नेता तथा पार्टीका कार्यकर्तासँग सहकार्य गर्दै देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। जनसेवा र देशको समुन्नतिका लागि आफ्नो सक्रियता निरन्तर रहने उहाँको भनाइ छ।