काठमाडौं, असोज २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि चौतर्फी घेराबन्दी भइरहेको दाबी गर्दै त्यसको प्रतिवाद गर्न पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट हुन आह्वान गर्नुभएको छ।
च्यासलस्थित पार्टी कार्यालयमा नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध राजनीतिक मोर्चाबन्दी हुन सक्ने बताउनुभयो। उहाँले पार्टीमाथिको घेराबन्दी अझै जारी रहेको दाबी गर्नुभयो।
ओलीले २०७७ सालदेखि नै एमाले कब्जा गरेर ध्वस्त पार्ने प्रयास भएको र त्यसमा असफल भएपछि २०७८ सालमा पार्टी विभाजन गराइएको आरोप लगाउनुभयो। २०७९ सालको निर्वाचनमा विभिन्न दल एमालेविरुद्ध एकजुट भएको उल्लेख गर्दै उहाँले त्यसका बाबजुद एमाले लोकप्रिय पार्टी बनेको दाबी गर्नुभयो।
उहाँले सामाजिक सञ्जालमार्फत पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास भइरहेको आरोप पनि लगाउनुभयो। पार्टीभित्रै केही नेताका गतिविधिले चुनौती थपिएको उल्लेख गर्दै ओलीले आन्तरिक एकता सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
‘हामीविरुद्धको घेराबन्दी सिद्धिएको छैन, अहिले पनि चालु छ। त्यसकारण पार्टीमा सुदृढ एकताका साथ अगाडि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाइएको र राष्ट्रिय अस्मिता, स्वाधीनता तथा स्वतन्त्रतामाथि असर परेको दाबीसमेत गर्नुभयो। ती विषयको पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ थियो।
आन्दोलनको नाममा आगजनी र लुटपाटलाई उचित ठहर गर्न नसकिने उल्लेख गर्दै उहाँले आन्दोलन न्याय, शान्ति, अग्रगमन र दमनविरुद्ध हुनुपर्ने बताउनुभयो। दमन भए त्यसको प्रतिवाद गर्नुपर्ने उहाँको भनाइ थियो।
ओलीले पार्टीका सदस्यहरूलाई निष्ठापूर्वक सक्रिय हुन निर्देशन दिँदै अब विगतको योगदानका आधारमा मात्रै मूल्यांकन नहुने बताउनुभयो। पार्टीको नीति र नेतृत्वप्रतिको इमानदारी तथा कार्यक्षमतासमेत मूल्यांकनका आधार बन्ने उहाँले उल्लेख गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्