काठमाडौं, असोज २७ । पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभावका कारण आज देशका केही हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा अन्य हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।














प्रतिक्रिया दिनुहोस्