जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार ०७:०२

१६ वर्षीय किशोरलाई जंगलमा लगेर कुटपिट र ज्यान मार्ने धम्की, पाँच जना पक्राउ


कञ्चनपुर, असोज २७ । कञ्चनपुरको बेलौरीमा १६ वर्षीय किशोरलाई जबर्जस्ती स्कुटरमा राखेर जंगलमा लैजाँदै कुटपिट गरेको र खुकुरी देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोप लागेका एक जना भने फरार छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–९, रतनपुरका ती किशोरलाई असोज २३ गते दिउँसो करिब ४ बजे ‘एकछिन काम छ’ भन्दै केही युवाले जबर्जस्ती स्कुटरमा राखेर खजुवा जंगल लगेका थिए।

प्रहरीका अनुसार जंगलमा पुरानो रिसइबीका कारण किशोरलाई बन्धक बनाएर कुटपिट गरिएको थियो। उनीमाथि खुकुरी देखाउँदै ज्यान मार्ने धम्कीसमेत दिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी भिडियोसमेत सार्वजनिक भएको छ।

किशोरकी आमा जानकी अवस्थीले इलाका प्रहरी कार्यालय बेलडाँडीमा घटनाबारे मौखिक जानकारी गराएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–९, रतनपुरका २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवालाई पक्राउ गरेको छ। सोही घटनामा संलग्न रहेको आरोप लागेका २४ वर्षीय लक्ष्मण भण्डारी भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा प्रयोग भएको स्कुटर र खुकुरीसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका पाँचै जनामाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार पक्राउ परेका आरोपितलाई अनुसन्धानका लागि अदालतबाट १४ दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।