काठमाडौं, असोज २७ । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारबाट धम्की आएको भनिएका महिला र उनका बच्चाको सुरक्षा तत्काल सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले सार्वजनिक भएको भनिएको अडियोमा महिला र बच्चालाई लक्षित गरी प्रयोग गरिएका अपमानजनक शब्दप्रति आपत्ति जनाउनुभएको छ। उहाँले बच्चामाथि गरिएको भनिएको दुर्व्यवहार अस्वीकार्य रहेको उल्लेख गर्दै घटनालाई सामान्य रूपमा लिन नहुने बताउनुभएको छ।
“अपराधिमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ,” झाँक्रीले भन्नुभएको छ। उहाँले नेपाल प्रहरीलाई महिला र बच्चाको ज्यानको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको अनुसन्धान गरी दोषी पाइएकामाथि कानुनी कारबाही अघि बढाउन माग गर्नुभएको छ।
सांसद सुनारले एक महिलालाई धम्की दिएको र पैसा मागेको भनिएको अडियो सोमबार जनआस्थाले सार्वजनिक गरेको थियो। उक्त अडियोमा महिलालाई अपमानजनक गालीगलौज गरिएको र बच्चालाई समेत लक्षित गरी आपत्तिजनक शब्द प्रयोग गरिएको झाँक्रीको भनाइ छ।
अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारलाई छानबिन निष्कर्षमा नपुग्दासम्म सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। तर सुनारले सार्वजनिक अडियो आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको दाबी गर्दै खण्डन गर्नुभएको छ।
अडियोको सत्यता र घटनामा सुनारको संलग्नताबारे स्वतन्त्र पुष्टि भइसकेको छैन। घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र आरोप लगाइएका महिला तथा बच्चाको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग उठेको छ।














प्रतिक्रिया दिनुहोस्