जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार १९:०८

प्रेस चौतारी रामेछापको शुभकामना आदानप्रदान : पत्रकारिताका चुनौती सामना गर्न सञ्चारकर्मीबीच एकता र सहकार्य आवश्यक


रामेछाप, आसाेज २७ । पत्रकारिता क्षेत्रसहित विभिन्न क्षेत्रमा देखिएका चुनौती सामना गर्न सञ्चारकर्मीबीच एकता, सहकार्य र आपसी सद्भाव आवश्यक रहेकोमा रामेछापका सरोकारवालाले जोड दिएका छन्।

प्रेस चौतारी नेपाल रामेछापले नेपालीका महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व र नेपाल संवतको अवसरमा मंगलबार सदरमुकाम मन्थलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिताको व्यावसायिकता, मर्यादा र एकताको आवश्यकतामाथि जोड दिएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बदलिँदो परिस्थिति र वर्तमान अवस्थालाई ध्यानमा राखेर चाडपर्व मनाउनुपर्ने बताउनुभयो। उहाँले अनावश्यक तडकभडकभन्दा सामाजिक सद्भाव, आपसी आत्मीयता र सांस्कृतिक परम्परालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल बागमती प्रदेशका सचिव नवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरे तथा महासंघका पूर्वअध्यक्षहरू बद्री नयाँघरे र रमेश ढुङ्गेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

त्यसैगरी, नेपाल प्रेस युनियन रामेछापका उपाध्यक्ष सागर बोहरा, प्रेस सेन्टर रामेछापका सचिव प्रशान्त हायु र समाजवादी प्रेस संगठन रामेछापका अध्यक्ष कैलाश खत्रीलगायतले पनि चाडपर्वको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले चाडपर्वलाई सभ्य, भव्य र तडकभडकरहित रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न सञ्चारकर्मीबीच आपसी सद्भाव, सहकार्य र एकता अपरिहार्य रहेको उल्लेख गर्दै व्यावसायिक पत्रकारिताको विकासका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए।

चाडपर्वले सामाजिक सद्भाव, आपसी आत्मीयता र सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै वक्ताहरूले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए।