काठमाडौं, असोज २७ । संविधानले दिएका अधिकार कार्यान्वयनमा ढिलाइ भएको भन्दै ६ प्रदेशका मुख्यमन्त्रीले संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्।
विराटनगरमा मंगलबारदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर नभएको गुनासो गरेका हुन्।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमानदार नदेखिएको आरोप लगाउनुभयो।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधानअनुसार प्राप्त अधिकारको कार्यान्वयन मात्रै खोजेको बताउनुभयो। मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल हुन नसक्ने धारणा राख्नुभयो।
त्यस्तै, बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यावहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको बताउनुभयो। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकार अभावका कारण प्रदेशका चुनौती थप जटिल बनेको गुनासो गर्नुभयो।
बजेट पारित गर्नेसम्बन्धी समस्या झेलिरहेका कारण सुदूरपश्चिमका मुख्यमन्त्री भने सम्मेलनमा सहभागी हुनुभएन।
बुधबारसम्म चल्ने सम्मेलनमा प्रदेशका साझा समस्या पहिचान गरी संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि साझा धारणा बनाउने तयारी छ।














प्रतिक्रिया दिनुहोस्