जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार १९:४७

दसैँ–तिहार सुरक्षामा ५० हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी


काठमाडौं, असोज २७ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरेको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार सुरक्षा निगरानीका लागि सीसीटीभी, बडीवर्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिनेछ। सामाजिक सञ्जालको निगरानी र डिजिटल सूचनाको विश्लेषण गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाइने प्रहरीले जनाएको छ।

सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय सीमानाकाका १०८ स्थानमा हेल्प डेस्क राखिएको छ। यात्रु सहायता कक्ष र सीमा हेल्प डेस्कमा गरी १ हजार ८७० प्रहरी परिचालन गरिएको छ।

चाडपर्वमा ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार र अवैध हुण्डी नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ। खुला सीमाबाट हुन सक्ने अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ तथा लागुऔषध ओसारपसार र तस्करी नियन्त्रणमा पनि विशेष निगरानी गरिनेछ।

लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु र राजमार्ग सुरक्षामा विशेष ध्यान दिइने प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको अनुमतिपत्र, मादक तथा लागुऔषध सेवन, सिट क्षमताभन्दा बढी यात्रु राखे–नराखेको, दुई जना चालक भए–नभएको र सवारीको प्राविधिक परीक्षणसम्बन्धी प्रमाणपत्र जाँच गरिनेछ।

प्रहरीले बैंक तथा वित्तीय संस्था, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक, चोक र सुनचाँदी कारोबार हुने क्षेत्रलाई विशेष निगरानीमा राख्ने जनाएको छ।

अनलाइन सपिङको नाममा हुने ठगी तथा बैंकिङ ठगीबाट जोगिन प्रहरीले नागरिकलाई ओटीपी, पिन र पासवर्डजस्ता गोप्य विवरण अरूलाई नदिन आग्रह गरेको छ।

चाडपर्वका बेला नागरिकको जनधनको सुरक्षा, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार र सुरक्षालाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।