काठमाडौं, असोज २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जान लागेका श्रमिकसँग घुस लिएको आरोपमा हिमालयन एयरलाइन्सका एक कर्मचारी नियन्त्रणमा लिइएका छन्।
असोज २६ गते मिनबहादुर रावतसँग घुस लिएको आरोपमा एयरलाइन्सका कर्मचारी हंशराज जैशीलाई नियन्त्रणमा लिइएको हो। अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले थप अनुसन्धानका लागि जैशीलाई विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको जनाएको छ।
अध्यागमन कार्यालयका अनुसार रावतको श्रम स्वीकृतिको म्याद सकिएको थियो। पुनः श्रम स्वीकृतिको प्रक्रियामा सहजीकरण गरिदिने बहानामा जैशीले रकम लिएको आरोप लागेको छ।
कार्यालयले अनुसन्धानका क्रममा जैशीको मोबाइल नम्बरमा इसेवामार्फत १४ हजार रुपैयाँ आएको भेटिएको जनाएको छ। साथै, सीसीटीभी फुटेजमा पनि रावतसँग सहजीकरणका नाममा जैशीले शंकास्पद गतिविधि गरेको देखिएको अध्यागमन कार्यालयले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्