काठमाडौं, असोज २७ । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाडेर गाउँ फर्किने यात्रुको चाप बढेको छ। पछिल्लो दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रुले उपत्यका छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ र २६ गते गरी एक लाख नौ हजार ६३६ जना यात्रु बाहिरिएका हुन्। बाहिरिनेमा ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला छन्।
प्रहरीको तथ्यांकअनुसार असोज २५ गते ५२ हजार ८२७ र २६ गते ५६ हजार ८०९ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए। असोज २७ गतेको तथ्यांक भने सार्वजनिक भइसकेको छैन।
दसैँ मनाउन घर फर्किनेको संख्या बढेसँगै कलंकी, नागढुंगा–थानकोट, साँगा र दक्षिणकालीलगायतका नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप बढेको छ। पछिल्लो तथ्यांकअनुसार नागढुंगा नाकाबाट सबैभन्दा बढी २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ जना यात्रु बाहिरिएका छन्।
यात्रुको चाप बढेपछि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। टिकटमा हुने कालोबजारी, ठगी तथा यात्रुका गुनासो सम्बोधन गर्न सहायता कक्षमार्फत निगरानी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले यात्रुलाई टिकट काटेर मात्रै यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्