जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार २०:०२

सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमा प्रहरीको आन्तरिक छानबिन सुरु


काठमाडौं, असोज २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको एक महिलासँग भएको भनिएको आपत्तिजनक अडियो सार्वजनिक भएपछि प्रहरीले आन्तरिक छानबिन थालेको छ।

सांसद सुनारले महिलालाई अमर्यादित शब्द प्रयोग गरी गाली गरेको भनिएको अडियो सोमबार सार्वजनिक भएको थियो। घटनाबारे रास्वपाले पनि आन्तरिक छानबिन सुरु गरेको छ।

पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन अघि बढाएको र सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको रास्वपाले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले समाचार र सामाजिक सञ्जालमार्फत अडियोबारे जानकारी पाएपछि त्यसको सत्यताबारे बुझ्ने काम भइरहेको बताएका छन्।

प्रहरीका अनुसार पक्राउ गरी अनुसन्धान अघि बढाउन पीडित महिलाको उजुरी आवश्यक पर्नेछ। महिलाले प्रहरी कार्यालयमा उपस्थित भएर वा अनलाइनमार्फत उजुरी दिन सक्ने प्रहरीले जनाएको छ।

हालसम्म ती महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी दिएकी छैनन्। सार्वजनिक अडियोको सत्यता भने पुष्टि भइसकेको छैन।