जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार ०७:३६

भारतको बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा १३ बालबालिकाको मृत्यु


काठमाडौं, असोज २८ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ। दुर्घटनामा परेका सात जनाको उद्धार गरिएको छ।

मंगलबार राति भएको दुर्घटनाका बेला डुंगामा करिब २० जना सवार रहेको बताइएको छ। उनीहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा डुंगा पल्टिएको हो।

वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार उद्धार गरिएका सात जनालाई उपचारका लागि नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको थियो। घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत लगिएको छ। डुंगामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उहाँले बताउनुभयो।

दुर्घटनापछि रातभर उद्धार कार्य सञ्चालन गरिएको थियो। घटनास्थलमा राज्य विपद् प्रतिकार्य बल र स्थानीय गोताखोर परिचालन गरिएको थियो।

घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ। उहाँले उद्धार कार्य तीव्र बनाउन र घाइतेलाई गुणस्तरीय उपचार उपलब्ध गराउन प्रशासनलाई निर्देशनसमेत दिनुभएको छ।

त्यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारका निकटतम सदस्यलाई जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ।