जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार १०:५४

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, ३ हजारभन्दा बढी सहभागी हुने


काठमाडौं, असोज २८ । नेकपा एमाले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक आज बसेको छ।

बैठकमा राष्ट्रिय भेलाको तयारी, सहभागिता र व्यवस्थापनबारे छलफल भएको छ। एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका नीति, पारित दस्तावेज र वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर भेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेला अभिमुखीकरणमूलक हुनेछ। मंसिर २ गते बिहान ११ बजे सुरु हुने भेला भोलिपल्ट साँझसम्म सञ्चालन हुनेछ।

भेलामा केन्द्रीय कमिटीदेखि स्थानीय तह, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुने एमालेले जनाएको छ।

भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना र प्रदेश, प्रवास तथा प्रवासी नेपाली मञ्चबाट ५५ जना सहभागी हुनेछन्। जिल्ला तहबाट ४४० जना तथा पालिका कमिटीका अध्यक्ष र पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन्।

त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका प्रमुख १९६ जना, उपप्रमुख ३४२ जना र जनसंगठनबाट ९६ जना सहभागी हुनेछन्।

पार्टीका नीति तथा दस्तावेजबारे अभिमुखीकरण गर्ने र वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको दृष्टिकोणमाथि छलफल गर्ने उद्देश्यले एमालेले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।