काठमाडौं, असोज २८ । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया तत्कालका लागि रोकिएको छ। खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता र म्यानपावर व्यवसायीसँगको सम्बन्धलगायत विषयमा प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले थप अध्ययन गर्ने निर्णय गरेको हो।
सुनुवाइका क्रममा खरेलको योग्यता, कूटनीतिक अनुभव र सार्वजनिक भएका अडियो तथा कागजातबारे सांसदहरूले प्रश्न उठाएका थिए। समितिले प्राप्त उजुरी र कागजातहरूको अध्ययन गरी त्यसपछि मात्रै थप निर्णय लिने सहमति गरेको छ।
खरेलले भने आफूमाथि लागेका आरोपहरू तथ्यहीन र भ्रामक रहेको दाबी गर्नुभएको छ। उहाँले जग्गा कारोबार, आर्थिक लेनदेन वा अनुदान मिलाइदिने प्रलोभनमा आफ्नो संलग्नता नरहेको जिकिर गर्नुभएको छ। संस्थागत आर्थिक कारोबारमा आफू एक्लैले निर्णय नगर्ने पनि उहाँको भनाइ छ।
सुनुवाइका क्रममा सांसदहरूले आरोपसँग सम्बन्धित तथ्य र प्रमाणको वस्तुनिष्ठ परीक्षण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले कूटनीतिक नियुक्तिमा देशको प्रतिष्ठा र मर्यादालाई ध्यान दिनुपर्ने बताएका छन्।
एमाले सांसद प्रेमप्रसाद दंगालले खरेलको शैक्षिक योग्यता र कूटनीतिक अनुभवबारे प्रश्न उठाउनुभएको थियो। रास्वपाका सांसद मधुकुमार चौलागाईंले खरेलको दाबी र सार्वजनिक भएका अडियो तथा कागजातबीच देखिएको भनिएको विरोधाभासबारे छानबिन गर्नुपर्ने बताउनुभयो।
त्यस्तै, सांसद वर्षमान पुन र पद्मा अर्यालले पनि हतारमा निर्णय लिनुभन्दा प्राप्त कागजात र उठेका प्रश्नको अध्ययन गरेर मात्रै प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार आवश्यक परे खरेललाई केही समयपछि पुनः समितिमा बोलाइनेछ। समितिले थप अध्ययनपछि सुनुवाइ प्रक्रियाबारे निर्णय गर्ने जनाएको छ।
खरेलमाथि उठेका आरोपहरूबारे समितिको अध्ययन जारी रहेकाले सुनुवाइको अन्तिम निर्णय भने भइसकेको छैन।














प्रतिक्रिया दिनुहोस्