जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार १७:३७

चामल जफत भएपछि कृष्णनगरमा व्यापारीको आत्मदाह प्रयास, प्रहरीले बचायो


काठमाडौं, असोज २८ । कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चामल नियन्त्रणमा लिएपछि एक व्यापारीले आत्मदाहको प्रयास गरेका छन्।

कृष्णनगर नगरपालिका–२ स्थित बैंकरोडमा अनुगमनका क्रममा चामल बोकेको पिकअपमा आवश्यक कागजपत्र नभेटिएको भन्दै प्रहरीले चामल भन्सार कार्यालयमा बुझाएपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले शरीरमा मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेको स्थानीयले बताएका छन्।

प्रहरी र स्थानीयले तत्काल जोगाएपछि बेहोस भएका अग्रहरीलाई उपचारका लागि सुरुमा तौलिहवा अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पुर्‍याइएको छ।

अग्रहरीले आफूले ल्याएको ६० बोरा चामलको बिलबिजक हुँदाहुँदै पनि प्रहरीले चामल नियन्त्रणमा लिएको दाबी गरेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदाप्रसाद चौधरीले चेकजाँचका क्रममा व्यापारीले मट्टितेल छर्केर आगो लगाउन खोजेको पुष्टि गर्नुभयो। प्रहरी र स्थानीयले उनलाई बचाएको तथा शरीरमा आगो नलागे पनि मट्टितेलका कारण असर परेपछि उपचारका लागि अस्पताल पठाइएको उहाँले बताउनुभयो।

चामलको कागजपत्र र नियन्त्रणमा लिइएको घटनाबारे भने थप विवरण आउन बाँकी छ।