जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार १७:३९

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता


काठमाडौं, असोज २८ । गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भारतको नयाँदिल्लीमा भेटवार्ता भएको छ।

पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत पुग्नुभएका गृहमन्त्री गुरुङले बुधबार जयशंकरसँग भेटवार्ता गर्नुभएको हो।

भेटमा नेपाल र भारतबीच क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापन प्रभावकारी बनाउने, अन्तरदेशीय अपराध नियन्त्रण तथा विपद् पूर्वतयारी र प्रतिकार्यमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।

यस क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो।

भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा तस्बिर सार्वजनिक गर्दै नेपालका गृहमन्त्रीसँग भेटेर खुसी लागेको बताउनुभएको छ।

नेपाल र भारतबीच सुरक्षा समन्वय तथा विपद् व्यवस्थापनमा सहकार्य थप मजबुत बनाउने प्रयासका रूपमा यस भेटवार्तालाई हेरिएको छ।